५७ औं प्रजातन्त्र दिवस को उपलक्ष्यमा राजा ज्ञानेन्द्रले देशवासीका नाममा सन्देश दिदै २०६१ माघ १९ गते को आफ्नो कदम तत्कालीन परिस्थितिको बाध्यता भएको जीकिर गर्दै अझै सम्म पनि अफ्नो गल्ति भएको स्विकार गरेनन।
उनले सन्देशमा तत्कालीन परिस्थिति तथा जनताको चाहनाले आफुलाइ उक्त कदम चाल्न बाध्य बनाएको भन्दै उक्त परिस्थिति निर्माण गर्न राजनैतीक दलहरु लाइ जिम्मेवार रहेको दोष लगाएक छन। आफुले सम्बिधान बमोजीम प्रतिनिधिसभा विघटन गरेकोमा तत्कालिक प्रधानमन्त्रीले समयमा निर्वाचन गराउन नसकेको तथा त्यसपछिका सरकारहरूले पनि निर्वाचन गराउन नसकेकोले शान्ति सुरक्षा कायम गरी जननिर्वाचित निकायहरूलाई जीवन्त तुल्याउन जनताको चाहनाबमोजिम माघ १९ को कदम चाल्नु परेको बताएक छन।

सन्देशमा राजाले विभिन्न व्यवधानले गर्दा आफुले पनी अठोट अनुसार काम गर्न नसकेको भन्दै आफ्नो शासनकालका १५ महिनाको अवधिमा भएको कोशिश, सफलता र असफलताको जस अपजस नैतिकरूपमा लीने बतएक छन। जन निर्वाचित प्रतिनिधिहरूले शासन गर्नुपर्छ भन्ने आफ्नो बिचार भएको बतएपनि राजाले सन्देशमा सम्बिधान सभाको बारेमा भने एक शब्द पनी उल्लेख गरेक छैनन।

सन्देश दम्भ : दलहरु

दलहरुले राजाको सन्देशले निरंकुश कदमको प्रतिरक्षा तथा आफ्नो दम्भ प्रदर्शन गरेको बतएका छन। सरकारले आफ्नो स्विकृति बिना सन्देश आएको र निरंकुश कदमको ढाकछोप गर्न खोजीनु दुर्भाग्यपुर्ण रहेको जनाएको छ। काङ्ग्रेसले सन्देशमा अधिनयकवादि चरित्र तथा दम्भ प्रदर्शन गरिएको बताएको छ। माओवदिले राजालाइ सन्देश दिने कुनै वैधानिक अधिकार नभएको बताउँदै सन्देश सम्बिधान सभाको निर्वाचन हुन नदिने षडयन्त्रको कदमको रुपमा रहेको बताएको छ


राजाको सन्देश को पूर्ण विवरण


प्यारा देशवासीहरू,

आज हामी ५७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउँदैछौ। जनताको हकको लागि राजा र जनता मिलेर गरेको सफल प्रयासलाई सम्झाउने यस ऐतिहासिक दिनमा प्रजातन्त्रका प्रवर्तक पूज्य जिज्यू बुबाज्यू स्वर्गीय श्री ५ त्रिभुवन तथा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छौ।

नेपालको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र जनताको चाहना नै राजसंस्थाका चाहना रहने गरेको तथ्य हाम्रो गौरवशाली इतिहासको आधारभूत पक्ष हो । तत्कालीन निर्वाचित प्रधानमन्त्रीको सिफारिसमा संविधानबमोजिम प्रतिनिधिसभा विघटन भएको र निजले संविधानले तोकेको अवधिमा निर्वाचन गराउन नसकेको तथा त्यसपछि बनेका सरकारहरूले पनि निर्वाचन गराउन नसकेकोले शान्ति, सुरक्षा कायम गरी जननिर्वाचित निकायहरूलाई जीवन्त तुल्याउन तत्कालीन परिस्थितिको बाध्यता एवम् जनताको चाहनाबमोजिम २०६१ माघ १९ गते हामीले कदम चाल्नु परेको कुरा प्रष्टै छ । विभिन्न व्यवधानले गर्दा अठोट गरेअनुसार जनताको प्रतिनिधित्व गर्ने निकायहरू निर्वाचनद्वारा स्थापित गराउन सकिएन । करिब १५ महिनाको अवधिमा भएको कोशिश, सफलता र असफलताको जस अपजस नैतिकरूपमा हाम्रो पनि हो । तर हाम्रो एकमात्र चाहना जनताले आफ्ना निर्वाचित प्रतिनिधिहरूमार्फ शासनभार ग्रहण गर्न पाउनुपर्छ भन्ने नै रहेकोले बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवम् समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने विश्वासमा २०६३ बैशाख ११ गते प्रतिनिधिसभा पुनस्थापित गरिएको कुरा पनि र्सवविदितै छ ।

बहुदलीय प्रजातन्त्रलाई सुदृढ बनाउन सम्पूर्ण नेपालीको गुनासो, आकाङ्क्षा र भावनालाई सबैको चित्त बुझ्ने गरी परिपक्व ढङ्गमा सम्बोधन गरेर जननिर्वाचित निकायहरूको स्थापना गर्नुपरेको छ । नेपाल गाउँ, सहर, तराई, पहाड र हिमालमा बस्ने तराईबासी, आदिवासी, जनजाति र दलित सबै नेपालीको साझा फूलबारी हो । यही शाश्वत सत्यलाई पालन गरेर नै नेपालको राष्ट्रियता र अखण्डता जोगिएको कुरा सबैका लागि सँधैको लागि स्मरणीय छ । नेपालको लागि नेपाली जनता नै मार्गदर्शक हुन् । नेपाली जनता बहुदलीय प्रजातन्त्रको र्सार्थक अभ्यासद्वारा समुन्नत नेपालको निर्माण गर्न चाहन्छन् । इतिहासको सम्मान गरेर मात्रै आफ्नो विशिष्ट पहिचान सुरक्षित रहन्छ भन्ने स्वाभिमानी नेपालीहरूको अटल विश्वास छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसले सबै नेपालीको भावनात्मक सहमति र सक्रिय सहभागिता सुनिश्चित गरी, जनताको इच्छाको सर्वोच्चतालाई सुमेरु मानेर बहुदलीय प्रजातन्त्रको माध्यमबाट नेपाल र नेपालीको बृहत्तर हितमा समर्पित रहन सबैलाई प्रेरणा देओस्- यही हाम्रो कामना छ ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् !
जय नेपाल !