नेपाल डायरी @ 12.30

91.jpg
फोटो:- इन्सेक

रौतहट जिल्लाको गौरमा मधेसी जनअधिकार फोरम र माओवादी भ्रातृ संगठन मधेसी मुक्ति मोर्चाबीच ०६३ चैत ७ गते भएको दोहोरो भिडन्तका क्रममा आफ्ना कार्यकर्ताहरु मारिएको विरोधमा विभिन्न शिविरमा रहेका माओवादी छापामारहरुले चैत ८ गते शिविर छाडी हतियारसहित प्रदर्शन गरेका छन् । यसैगरी अन्य ठाउँमा पनि माओवादीले विभिन्न विरोध कार्यक्रमहरु आयोजना गरी शोक सभा सम्पन्न गरेका छन् । त्यसै गरी मोरङ् जिल्लाको उत्तरी क्षेत्र टाँडी र याङ्शिला गाविसस्थित माओवादी सहायक शिविरका कम्तिमा १५ सय छापामारहरूले ०६३ चैत ८ गते हतियारसहित बाहिर निस्केर प्रदर्शन गरेका छन् ।

उनीहरूले रौतहट जिल्लाको गौरमा आफ्ना साथीहरू मारिएकोमा सोको बदला लिने भन्दै खुकुरी, लाठीलगायतका घरेलु हतियारसहित शिविरबाट ६ किलोमिटर टाढाको दूरीसम्म पुगी नाराबाजी गरेका प्रत्यक्षदर्शी बताए । शिविरनजिकको पथरी गाविसस्थित पत्रकार दीपेन्द्र तिम्सिनाका अनुसार, टाँडी गाविस-५ हात्तीमारास्थित सहायक शिविरका सातसय छापामार सोही गाविसको ६ किलोमिटर दूरी उत्तर वडा-८ को धोवेनीमा पुगेर शोकसभा गरेका थिए । शोकसभामा शिविरका कमाण्डर विवेक, सहायक कमाण्डरद्वय अटल र सूर्यले सरकारले पार्टी कार्यकर्ताहरूको सुरक्षा दिन नसकेको बताउँदै दोषीलाई कारबाही नगरे आफूहरूले बदला लिने बताए । त्यसैगरी याङसिला गाविस-९ कालापानीस्थित सहायक शिविरका करिब ७ सय छापामारहरू पनि शिविरबाट बाहिर निस्केर शोकसभा गरेका छन् ।

इलाममा को चुलाचुली पनि माओबादीको मधेसी मुक्ति मोर्चा र मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरू बिच ०६३ चैत ७ गते रौतहटको गौरमा भएको झडप नियोजित षड्यन्त्रपूर्ण भएको र आफ्ना कार्यकर्ताहरूको निर्मम हत्या गरिएको भन्दै इलामको दानाबारीस्थित सहायक शिविरका जनसेनाहरूले ०६३ चैत ८ गते चार घण्टा शिविर बाहिर प्रदर्शन गरेका छन् ।

हत्यारालाई कार्वाही गर, शान्ति शुरक्षा कायम गर भन्दै दिउँसो २ बजे ब्यारेक बाहिर नारा लगाउँदै निस्किएका माओबादी जनसेनाहरूले दानाबारी -१ स्थित गाबिसको प्राङ्गणमा पुगेर बिरोध सभा गरेका थिए ।

सभामा माओवादीका मेची ब्युरो सचिवालय सदस्य गौरिशंकर खड्का (राजेन्द्र), बिप्लभ स्मृति ब्रिगेड दानाबारीका कमाण्डर हिमाञ्चल, सहायक कमाण्डर संगित लगायतले सरकार मुकदर्शक भई माओवादी कार्यकर्ताहरूमाथि नियोजित ढंगबाट षड्यन्त्र गरिएको घटनाप्रति कडा आलोचना गर्दै हत्याराहरूको छानबिन र कार्वाही नगरे जनसेनाहरू ब्यारेकको चौघेरामा नबसी प्रतिबादका लागी ब्यारेक बाहिर आउने चेतावनी दिएका छन् ।

त्यसैगरी चुलाचुलीमास्थित माओबादीको प्रथम डिभिजनबाट नाराजुलुस गर्दै डिभिजनबाट बाहिरिएका जनसेनाहरूले झापाको केरखामा विरोध प्रदर्शन गरेका छन् । सभालाई डिभिजन प्रमुख परवाना, सहायक कमाण्डर पावेल लगायतले सम्बोधन गरेका थिए । उनीहरू अपरान्ह ५.३० बजे ब्यारेक भित्रिएका थिए । सोही घटनाको विरोधमा माओवादी जिल्ला कमिटि इलामले ०६३ चैत ८ गते इलाम सदरमुकाममा समेत विरोध सभा गर्दै सरकारले शान्ति सुरक्षा प्रदान नगरेको भन्दै आलोचना गरेका छन् । उनीहरूले संविधान सभा नचाहने तत्वहरूले नियोजित रुपमा गौर हत्याकाण्डको मञ्चन गरेको आरोप लगाएका छन् ।

अन्य जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
स्रोत :-अनौपचारीक सेवा केन्द्र (इन्सेक)