सन्त नेता का रुपमा नेपाल को राजनीतिमा चिनिएका कर्मठ राजनितिज्ञ किशुन जी को बारेमा केही पहिला नया पत्रीका मा छपिएको यो आलेख
**************************************************************
उनी कहिले ‘म अविवाहित भए पनि कुमार होइन’ भनेर चर्चामा आए । कहिले ‘आइमाई र मौसमको भर हुँदैन’ भनेर विवादमा आए । कहिले ‘म भारतमुखी हुँ’ भनेर आलोचनाका पात्र बने । प्रधानमन्त्री निवासबाट सुराही र छाता लिएर फर्किंदा उनी करुणा र सम्मानका पात्र पनि बने । तर, अहिले भने उनी गम्भीर आपत्ति र आलोचनाका पात्र बनेका छन् ।

हो, सहरको कोलाहलभन्दा अलि पर गोदावरीस्थित सरकारी आश्रममा सहयोगी अमिता कपालीको स्याहार-सुसारका साथ पान चपाउँदै, गीता पाठ गर्दै र आपना सबै कर्म ईश्वरमा समर्पित गर्दै बुढ्यौली बिताइरहेका नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी) अहिले फेरि चर्चामा छन् । सक्रिय राजनीतिबाट मुक्त रही मौनधारण गरेका भनिएका किसुनजीले आफ्ना समवयी सहयात्री नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको देहावसानको तेह्र दिन पनि नबित्दै भनेका छन, ‘०४७ सालको संविधान ब्युँताउनुपर्छ ।’ जनताले रद्दीको टोकरीमा मिल्काएको ०४७ सालको संविधान ब्युँताउनुपर्छ भन्नुको अर्थ हो, संवैधानिक राजतन्त्र पनि ब्युँताउनुपर्छ । त्यति मात्र होइन, उनले जनआन्दोलन- ०६२/६३ को उपलब्धि संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई ‘आयातीत पोसाक’को संज्ञा पनि दिएका छन् ।

कालीबाबा र पूर्वराजा ज्ञानेन्द्रकै समकक्षमा उभिएर राजतन्त्र ब्युँताउनुपर्ने याचना गरेपछि किसुनजी यतिवेला गणतन्त्रवादीहरूका दृष्टिमा प्रतिगामी कित्तामा दरिन पुगेका छन् । उनको अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ । यद्यपि, प्रजातन्त्रका लागि सिंगो जीवन समर्पित गरेका किसुनजीले जीवनको उत्तरार्धमा आएर आफ्नो उचाइ घटाउने ढंगले यस्तो अलोकपि्रय अभिव्यक्ति यसपटक मात्र दिएका होइनन् । उनले बारम्बार आफू राजावादी भएको बताउँदै आएका छन् र त्यसमा उनी स्पष्ट छन् । किसुनजीको राजतन्त्रमोहबारे कांग्रेस नेता प्रदीप गिरीले दुई वर्षअघि व्यक्त गरेका शब्दहरू सापटी लिने हो भने, ‘किसुनजी खासमा भीडको मानसिकता हेरेर आप\mनो राजनीतिक स्वार्थ सिद्द गर्ने नेता होइनन् । अलोकपि्रय हुनुपरे पनि आफ्नो मूल्य-मान्यतामा कायम रहने विचित्रको स्वभाव छ, किसुनजीमा ।’ यद्यपि, किसुनजीलाई ‘नजिकबाट चिन्ने’ कार्यकर्ता इन्द्रमणि अधिकारी भन्छन्, ‘जति लामो संगत गरे पनि मैले किसुनजीलाई राम्ररी चिन्नै सकेको छैनँ ।’ यहाँ किसुनजीसँग सम्बन्धित केही रोचक, गम्भीर र हास्यास्पस्द प्रसंगहरू समेटिएका छन्, जसले उनको मनोहर, रहस्यमयी र अनौठो स्वभावको झल्को दिन्छ ।

चिरञ्जीवीलाई घोक्रेठ्याक

यो प्रसंग हो, ०४३ सालको । राष्ट्रिय पञ्चायतको निर्वाचनमा नेपाली कांग्रेस पनि सहभागी हुनुपर्ने पक्षमा पार्टीभित्रै हस्ताक्षर अभियान चलाइएको थियो । चिरञ्जीवी वाग्ले, मार्शलजुलुम शाक्य, विपिन कोइराला र शिवबहादुर खड्काले हस्ताक्षर अभियानको नेतृत्व गरेका थिए । निर्वाचनमा भाग लिनुपर्ने पक्षमा रहेका करिब सयजनाको हस्ताक्षर नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई बुझाइयो । तर, भट्टराई भने निर्वाचनमा भाग नलिने पक्षमा थिए ।

त्यसवेलाको घटना-विवरण सुनाउँदै भट्टराईनिकट इन्द्रमणि अधिकारी नयाँ पत्रिकासँग भन्छन्, ‘०४३ सालको होलीको दिन थियो, हरिबोल भट्टराई र म किसुनजीलाई भेट्न भनी कुपण्डोलस्थित उहाँको निवासमा गयौँ । त्यहाँ पुगेपछि किसुनजीकै मुखबाट हामीले थाहा पायौँ, एक घन्टाअघि मात्र किसुनजीले चिरञ्जीवी वाग्लेजीलाई घोक्र्याएर निकाल्नुभएको रहेछ ।’

इन्द्रमणिका अनुसार पञ्चायतको चुनावमा पार्टीले भाग लिनुपर्ने पक्षमा दबाब दिन अघिल्लो दिन हस्ताक्षर बोकेर भट्टराईकहाँ पुगेका वाग्ले भोलिपल्ट होलीको दिन पनि सोही कुरा लिएर कुपण्डोल पुगेका रहेछन् । तर, किसुनजीले अनेक अपशब्द बोल्दै उनलाई लखेटेका रहेछन् । किसुनजीको भनाइ उद्धृत गर्दै इन्द्रमणि भन्छन्, ‘त्यो चिरञ्जीवी मकहाँ आज पनि चुनावमा भाग लिनुपर्छ भन्दै आएको थियो । अब आइन्दा मसँग त्यस्तो कुरा नगर्नू भनेर मैले उसलाई घोक्र्याएर परसम्म लखेटेँ । पञ्चायतको चुनावमा भाग लिने भनेको त सुसाइड गर्नु हो नि बाबु हो । बरु आऊ होली खेलौँ ।’ यद्यपि, वाग्लेले पछिसम्म किसुनजीको माया भने पाई नै रहे ।

त्यो सुनको पानदानी

०४७ सालको अन्तरिम सरकारमा भट्टराई प्रधानमन्त्री बने । अनि भारतको औपचारिक भ्रमणमा गए । भारतले नेपालमाथि लगाएको नाकाबन्दी खुलाए । भारतीय प्रधानमन्त्रीले पानका अम्मली भट्टराईलाई पान राख्ने केस (बट्टा) उपहार दिए । तर, त्यो बट्टा चानचुने थिएन, सुनको बट्टा थियो । बट्टामा एकातिर पानको पात र अर्कोतिर मसला र सुपारी राख्ने कोठा थिए ।

स्वदेश फर्किएपछि भट्टराईले एक दिन आफूनिकटका राजेन्द्र खरेललाई बोलाएर भने, ‘राजेन्द्र बाबु, तपाईं मसँगै धेरै वर्ष जेल बसेको । राजनीतिमा लागेर धेरै दुःख पाउनुभयो । तपाईंका लागि केही गर्न सकिनँ । यो एउटा उपहार छ, त्यही तपाईंलाई दिन्छु ।’ भट्टराईबाट पान राख्ने स्वर्ण बट्टा उपहार पाउँदा राजेन्द्र खरेल औधी खुसी भए । तर, ६ महिनापछि उनले त्यो बट्टा भट्टराईलाई नै फिर्ता दिए । किन त ?

‘मेरा तीनजना छोरा छन् । म बाँचुञ्जेल त किसुनजीको उपहार सुरक्षित होला । तर, मेरो शेषपछि तीनभाइ छोरामा त्यो पान राख्ने बट्टा कसले लिने भन्ने हानथाप होला । तीन टुक्रा पारेर लिए भने त झन् नराम्रो हुने भो । त्यसैले आमासँग सल्लाह गरेर त्यो बट्टा मैले भट्टराईलाई नै फिर्ता दिएँ,’ कांग्रेसका पुराना नेता खरेल भन्छन् ।

कुरा त्यत्तिमै टुंगिएन । प्रधानमन्त्री भट्टराईले पानको बट्टा क्याबिनेट बैठकमै प्रस्तुत गरे । भने, ‘राजेन्द्रलाई उपहार दिएको यो चिज उसले फर्कायो, यसलाई के गर्ने ?’ त्यसपछि त्यसलाई म्युजियमतिर राख्ने निर्णय भएको खरेल बताउँछन् । ‘पछि किसुनजीले राजा वीरेन्द्रसँगको भेटमा हाम्रो पार्टीमा राजेन्द्र खरेलजस्ता मूर्खहरू छन्, जो सुनको उपहार पनि फर्काउँछन् भनेर भन्नुभएछ,’ खरेल भन्छन् ।

सन्तनेताबाट भयो ‘धोखा’

कुनैवेला भट्टराईसँग अत्यन्त निकट रहेका कुवेर शर्मा कालान्तरमा राजावादी बने । उनी राजावादी कित्तामा जानुका पछाडि भट्टराईले उनलाई दिएको धोखा पनि एउटा कारण भएको बताइन्छ । भट्टराईबाट पाएको धोखाबारे कुवेर शर्माले आफ्नो पुस्तक ‘विद्रोह’मा ‘सन्तनेताबाट धोखा’ शीर्षकमै लेखेका छन, ‘म ०५१ साल कात्तिकको मध्यावधि चुनावमा सप्तरीको ४ नम्बर क्ष्ाेत्रबाट कांग्रेसको उम्मेदवार भएर पनि हारेँ । मेरो स्थिति एकदम बलियो थियो । तर, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री शेरबहादुर देउवालाई जसरी भए पनि मलाई हराउनु थियो ।…. उनीहरूले सोचेजस्तै चुनाव हारेपछि म कमजोर भएँ । कृष्णप्रसाद भट्टराईले गिरिजाप्रसाद कोइरालासँग गोप्य सम्झौता गर्नुभएछ । भरतशमशेर, ढुण्डीराज शास्त्रीलगायत मलाई एक वचन नसोधी कांग्रेसको केन्द्रीय समितिबाट निकालिदिनुभयो । विडम्बना के हो भने त्यही दिन बिहान हामी भट्टराईको निवास कुपण्डोलमा उहाँलाई भेटेर घर फर्केका थियौँ । कसैले फोन गरेर भन्यो- रेडियो सुन्नुहोला । बिहान ९ या १० बजेको समाचारमा रेडियो नेपालबाट हामीले निष्कासित भएको खबर सुन्यौँ । मेरो पढ्ने कोठामा मसँगै बस्नुभएका ढुण्डीराज शास्त्री त झसंग भएर सुइय..सुइय.. गर्दै त्यहीँ पल्टिनुभयो । मैले त्यसलाई आपनो घोर अपमानको घटनाको रूपमा लिएँ । त्यत्रो साथ दिएको नेता कृष्णप्रसाद भट्टराई, जोसँग म शिष्यबाट मित्र भइसकेको थिएँ, यत्रो धोखा दिनुहोला भन्ने कल्पना पनि गर्न सक्दिनँ थिएँ ।’

दीपेन्द्रलाई विवाहको सल्लाह

०५२ साल, माघको प्रसंग हो । तत्कालीन नारायणहिटी दरबारमा राजा वीरेन्द्रको स्वर्ण शुभजन्मोत्सवको अवसरमा विशेष समारोहको आयोजना गरिएको थियो । नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले मदिराको मस्तीबीच युवराजधिराज दीपेन्द्र शाहलाई भने, ‘यसरी बसेर भएन नि, सरकार । अब त विवाह गर्नुपर्‍यो । बरु म केटी खोजिदिउँला ।’ भट्टराईको अनपेक्षित प्रश्न सुनेर युवराज दीपेन्द्र अक्क न बक्क रहे । तर, परिस्थिति सम्हाल्दै उनले भने, ‘गरौँला नि, केको हतार ?’ प्रत्यक्षदर्शीका अनुसार त्यसपछि भट्टराईले थपे, ‘सरकारले बिहे गरेमा म पनि बिहे गर्नेछु ।’

दरबारको औपचारिक समारोहमा भट्टराईले यस्ता धेरै अनौपचारिक र अप्रत्यासित व्यवहार गरेका थिए, जुन यसभन्दा अझ गम्भीर प्रकृतिका थिए ।

राजपरिषद् कसरी जोगियो ?

हुन त ०४७ सालको संविधान जारी गर्ने क्रममा सेनाका जर्नेलहरूको समूह आएर हप्काउँदासमेत तर्सिएनन्, भट्टराई । गुप्तरूपमा समानान्तर संविधान जारी गर्ने दरबारको षड्यन्त्रलाई पनि उनले चिरेकै हुन् । तर, संविधानमा राजपरिषद्को व्यवस्थालाई कायम राख्ने काम भने भट्टराईले नै गरेका रहेछन् ।

यो प्रसंग हो, ०५५ साल फागुन ७ गतेको । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र दिवसका अवसरमा शीतलनिवासमा एक स्वागत समारोहको आयोजना गरेका थिए । सो समारोहमा त्यसै दिन तत्कालीन राजपरिषद् स्थायी समितिको सभापति नियुक्त भएका केशरजंग रायमाझी पनि उपस्थित थिए, जसलाई बधाईको ओइरो लागिरहेको थियो । सोही समारोहमा उपस्थित थिए, पत्रकार देवेन्द्र गौतम पनि । पत्रकार गौतमले त्यहाँ एउटा नयाँ कुरा सुन्ने मौका पाए, जसलाई पछि उनले आफ्नो पुस्तक ‘आकाश पाताल’मा यसरी समेटे, ‘स्वागत समारोहमा यो लेखकले नयाँ कुरा सुन्ने अवसर पायो । जनआन्दोलनपछि गठित संविधान सुझाव आयोगका अध्यक्ष विश्वनाथ उपाध्यायले तत्कालीन अन्तरिम सरकारका गृहमन्त्री योगप्रसाद उपाध्यायलाई भन्नुभयो, ‘मैले त संवैधानिक राजतन्त्रमा राजाका एक मात्र सल्लाहकार प्रधानमन्त्री हुन्छ, राजालाई सल्लाह दिने राजपरिषद्को व्यवस्था आवश्यक छैन भनेको थिएँ र आयोगले संविधानको मस्यौदा पठाउँदा राजपरिषद्को व्यवस्था राखेको थिएन । तपाईंहरूकै मन्त्रिपरिषद्ले त्यो व्यवस्था थपेर पठाएको त हो नि ।’ योगप्रसाद उपाध्याय नाजवाफ बन्नुभयो । कुरा बुझियो, तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नै प्रधानमन्त्रीको अधिकार वा कर्तव्य कटौती गरी राजपरिषद्को पुरानै अधिकारको व्यवस्था संविधानमा पुनस्र्थापित गराउनुभएको रहेछ । भट्टराईजीलाई सफल भन्ने कि नभन्ने ? पहिले कम्युनिस्ट खोल ओढेर डा. रायमाझीले अहिले जुन सफलता पाउनुभयो, त्यस्तै भविष्यको बाटो भट्टराईले हेर्नुभएकाले राजपरिषद् जोगाउनुभएको हो कि ?’

पत्रकारमाथि अभद्र व्यवहार

यो पनि ०५५ सालकै सन्दर्भ हो । सूर्यबहादुर थापाको सरकार ढलेपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । बालुवाटारस्थित प्रधानमन्त्री निवासमै कांग्रेस कार्यसमितिको बैठक बस्यो । जसको रिपोर्टिङ गर्न पत्रकारहरूको ओइरो लागेको थियो, बालुवाटारमा । त्यहाँ कांग्रेसका प्रायः सबै शीर्षनेताहरू उपस्थित थिए । तीमध्ये एक साप्ताहिकका पत्रकार बारम्बार नेताहरूलाई एउटै प्रश्न सोधिरहेका थिए, ‘हिजो एमालेले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री पदका लागि समर्थन गर्दा कांग्रेसले एमालेलाई पनि दरबारीयाको आरोप लगायो । पछि कांग्रेसले पूर्वपञ्च सूर्यबहादुर थापालाई प्रधानमन्त्री पदमा समर्थन गर्‍यो । चन्द दरबारीया हुन् भने थापाचाहिँ कसरी प्रजातन्त्रवादी भए ?’

पत्रकारले यो प्रश्न क्रमैसँग शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शैलजा आचार्यलाई सोधे । उनले बारम्बार एउटै प्रश्न सोधिरहेको दृश्य छेउमै बसेका कृष्णप्रसाद भट्टराईले बडो नियालेर हेरिरहेका थिए । पत्रकारले सोही प्रश्न गिरिजाप्रसाद कोइरालासमक्ष तेस्र्याए । त्यसवेलासम्म भट्टराई ‘इरिटेड’ भइसकेका थिए । तर, पनि उनले सहज मुद्रामा पत्रकारलाई सोधे, ‘ए बाबु, तपाईंको अखबार कुन हो हँ ?’

पत्रकारले भने, ‘प्रस्फुटन मासिक किसुनजी ।’ त्यसपछि भट्टराईले पुनः सोधे, ‘यो कहाँ आउँछ बाबु ?’ पत्रकारले तत्काल जवाफ दिए, ‘बजारमा ।’ त्यसपछि भट्टराईले एकाएक अनुहार रातोपिरो पारे । उनले पत्रकारलाई अपशब्द बोल्दै भने, ‘आउँछ बजारमा ? यसलाई यहाँबाट घोक्र्याएर निकाल त । यसले अघिदेखि नचाहिने कुरा सोधिरहेछ ।’

भट्टराईको रौद्ररूप देखेपछि गिरिजाप्रसाद अकमकिए । उनले भट्टराईलाई शान्त पार्ने उद्देश्यले भने, ‘होइन, किसुनजी, उहाँको पत्रिका बजारमा आउँछ क्यार, मैले पनि पढेको हुँ ।’ त्यसवेलासम्म पत्रकारहरूको भागाभाग भइसकेको थियो । सबै पत्रकार कुलेलम ठोके ।

महाराजले सत्ता छाडिबक्सिन्न, हिहिहि…

यो हो ०६३ साल वैशाख ४ गतेको घटना । जनआन्दोलन उत्कर्षमा थियो । जनताले लोकतन्त्रका लागि सहादत दिइरहेका थिए । राजतन्त्रविरुद्ध सिंगो देश जुर्मुराएको थियो । दमन तीव्र थियो । आन्दोलनको त्यो उहापोहकै बीच नारायणहिटी दरबारमा राजा ज्ञानेन्द्रले नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई र जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई दर्शनभेट (अब यो भाषाशैली चलनचल्तीमा छैन) दिए ।

दरबारको प्रस्थान गेटमा सञ्चारकर्मीहरूको ताँती थियो । राजालाई भेटेर बाहिर आएपछि भट्टराईले भने, ‘महाराजले सत्ता छाडिबक्सन्न । आखिर किन सत्ता छाड्ने ?’ पत्रकारहरू गलल्ल हाँसे । तर, त्यो संवेदनशील घडीमा किसुनजीको त्यस्तो अभिव्यक्ति किञ्चित अपेक्षित थिएन । न त त्यो कुनै हास-परिहासको कुरा थियो । भट्टराई भने बडो ‘ह्युमरस मुड’मा देखिन्थे । उनले थपे, ‘म त राजावादी हुँ । म संविधानसभाको पक्षमा म संविधानसभाको पक्षमा छैन । म पहिलेदेखि नै संविधानसभाको पक्ष्ामा छैन । वर्तमान संविधान (२०४७ को संविधान) लाई नै क्रियाशील बनाउनुपर्छ । वर्तमान संविधान क्रियाशील भएमा मुलुकमा परिवर्तन भइहाल्छ ।’ त्यति भनिसकेपछि उनले अन्तिममा राता दाँत देखाएर हाँस्दै भने, ‘महाराजधिराजले चाहेमा म प्रधानमन्त्री हुन सक्छु ।’

प्रस्तुतिः केशव ज्ञवाली