२०५५ सालको फागुन महिना हुनुपर्छ ।
म काठमान्डु आएको तिन बर्ष जती बिती सकेको थियो । । तीनवटा हिउद पचाइ सकेको थिए मैले यताको जाडोमा । दिनरातको रुटिङ उही थियो , स्कुल जाउ , भुरा सँग दिन भर छिनाझप्टि गर , थाकेर कोठामा आउ , पकाउन जागर चले पकाएर खाउ नत्र भोकै सुत । बस समयसारिणी मा हिडिरहेको थियो जिन्दगी ।
भक्तपुर , मुँलालाँ सडकको चिसो भुइ कोठाको बसाइ , अली परको खरिपाटीमा स्कुल , स्कुल छेउको लप्टन डाँडा , मेरो दिनचर्या थिए । आज जस्तो भिडभाड थिएन , कमलबिनायकबाट माथि लागे पछी । खाली-खाली खेत , खलियान देखिन्थे र देखिन्थ्यो पर सल्लाघरी , नगरकोट जाने बाटोमा । तर त्यो सल्लाघारी , त्यो नगरकोटले कहिल्यै तानेन मलाई । जती तान्यो त्यै लप्तन डाडोले , त्यै खरिपाटीको बिष्णुको मन्दिरले र पर भक्तपुर दरबार क्षेत्र निर रहेको सिद्ध पोखरीले । त्यो लप्टन डाँडामा बसेर मैले खुप चिहाए जीवन र जगतलाई , खुब गमे , र जीवन सम्झेर खुब रोए , भक्कनिएर रोए धेरै पटक । त्यो लप्टन डाडो , मेरो एकान्तको , मेरो तनहाइको मौन साक्षी हो ।

म काठमाडौं आएको अर्को न बर्ष हुनु पर्छ , बजारमा एउटा गीत आयो , कर्णदासको-जिन्दगी को के भरोसा , ….. दुई आँखामा एक मा हाँसो अर्को मा रुवाइ छ । दुर्भाग्य , म सँग त्यो क्यासेट सुन्ने औजार थिएन , न किन्ने ल्याकत नै थियो । तर म डेरा बसेको घरको दोस्रो तलामा त्यो गीत दिनमा करिब अठार घण्टा जती बज्थ्यो । कोठामा हुँदा म ढोका खुलाई राखेर बस्थे , ताकी त्यो गीत कन्ठ हुने गरी सुनियोस । एक दिन गीत कन्ठ भो । अनी मलाई लप्टन डाँडा जाने बहाना मिल्यो । लप्टन डाँडा को कुनामा बसेर जिन्दगी को के भरोसा … एक्लै गुङुनाउनु त छदै थियो ।
_____________________________________
अँ ,प्रसँग यता २०५५ फागुन महिनाको हुनुपर्छ ।

शिवरात्री आयो ।

त्यही बर्ष मेरा अरु तीन चार जना “लगौटिया “यारहरु आए गाँउ बाट काठमान्डु । अनी सात जनाको एउटा हाम्रो जमात चार-पाँच बर्ष पछी पुन एकै ठाउँमा भेला भयो ।

साथीहरु पुरानो बानेश्वर (हालको गुरुकुल ) को छेउमा बस्थे , म भक्तपुर । मेलो नबिराइ हर शनिबार र बिदाको दिनमा पशुपतीमा “चुम्लुङ” हुन थाल्यो ।
_____________________________________
अनी शिवरात्री आयो ।

म अली अल्लारे नै थिए , मेरै उमेरका मेरा साथीसङ्गी अल्लारे नहुने कुरै भएन । बिहानै पशुपतीको पारिपट्टी बनमा बसेर “शिवबुट्टी” खाने र शिवरात्री मनाउने सल्लाह भो । प्रस्ताब पास भो । ताली बज्यो पररर ……

दिउसोको एक बजे । एउटा साथीले कताबाट हो, एकमुठी गाजाको बन्दोबस्त गर्यो् , मैले छ-सात वटा खुकुरी चुरोट किने र खाली गरे । बागमती नदी पारीको डाँडोको चौतारोमा बसेर हामीले “शिवबुटी ” तयार गर्यौ ।

गोठालो जादै देखी पातमा बेरेर बिडी खान सिकैकै थियो, चुरोट कुनै ठुलो कुरो भएन , तर आफुले गाँजा भने कहिल्यै खाएको होइन , अली अली डर लागि रहेको थियो। आ … जे पर्ला पर्ला , मनलाई सम्झाए ।
_____________________________________
हाम्रो पाँच जनाको बटालियन मानिसहरुको घुइचो छल्दै अड्डा जम्यो । हामी बसेको चौतारीबाट पशुपती मन्दिर र तल बाग्मती प्रस्ट देखिन्थ्यो । अहिले जस्तो फोहोर थिएन बागमती त्यो बेला सम्म ।
“हर हर महादेव बम भोला , सबको दु:ख हर्नु होला ” अली अनुभवी साथीले तीन चार सर्को तान्यो र फुरुरु धुवा छोड्यो बुटी भरेको चुरोट । पालै पालो सबैले ताने , मेरो पालो आयो , तिन चार सर्को गजबले ताने –
“धुवा बाहिर फाल्ने होइन , निल्न पर्छ , अनुभबी जो थिए ले सल्लाह दिए , “जसो जसो बाहुन बाजे , उसो उसो स्वाहाँ ” मैले अली अली धुवा निकाले नाकबाट ।

दुईवटा चुरोट सकियो , गाँजाले लाग्छ भन्थे , यत्रो लाग्नु ! लाग्दै लागेन । तेस्रो चुरोट पनि फुरुरु भो ।
करिब आधा घण्टा भएको थियो हाम्रो कार्यकर्म सुरुभएको – ओ यार यो मन्दिर किन हल्लिदै छ ? शम्भुले मेरो कानमा फुसफुसाउदै भन्यो । ज्या … मलाई मात्र त्यस्तो लागेको होला भनेको त शम्भुले पनि त्यस्तै देखेछ , केटालाई गाँजा लागेछ ।

सम्भु एक्कासी हास्न थाल्यो -मलाई पनि एक्कासी हासो पो उठेर आयो । अरुपनी हास्न थाले , एकै छिन् मा पाँच वटा चुरोट स्वाहाँ ।

मेरा आँखा अली अली तिरमिर तिरमिर गरे । टाउको हल्लियो ! बाबै , तल बागमतीको पानी त छ्ल्केर म बसेकै ठाउमा पो आइपुग्यो । लौ न ! तै पनि चौतारी को एउटा काठ लाई चप्प समातेर बसिरहे । माथि म्रिगस्थलीको रन बन फनन घुम्न सुरु भै सकेको थियो ।

केही बेरमा केटाहरुले प्रस्ताव गरे – भोक लाग्यो। तल तिर खान पाईन्छ रे – ल जाउ ।

भोक त मलाई पनि असाध्यै लागेको छ । जान त जाने नि तर खुटा तेकिएको पो जानु ? आफु उडेर उता कता कता बन पारी पुगे जस्तो भएको बेला कसरी जानु ? सम्भुको पाखुरामा जोडले समाते र लागे टोली को पछी पछी ।

अली तल बागमतीको पुल मा के आइपुगेको थिए – के भो के भो मलाई त ! एक्कासी मलाई घरको याद आयो , घर जान मन लाग्यो । अहिल्यै जाउ जाउ भो , त्यो पनि प्लेन चडेर् जाने मुड भो । यो अचानक के भो हो मलाई ?

मैले त घर पो जाने बिचार गरे ।

____________________________________
साथीभाइलाई त्यही छोडेर म लुसुक्क बागमतीको तिरैतिर ढुङ्गयान बाटो भएर तिलगंगा तिर लागे । त्यहाबाट सरासर एअरपोर्टतिर हान्निए । एअरपोर्ट गेटको छेउमा मैले चिनेको एउटा दाईको ट्रावल एजेन्सी थियो ।

दाई म घर जाने – मलाई एउटा टिकट चाहियो बिराटनगरको – ”

दाइले घडी हेरे , ए साढे तीन बजेछ , नेकोन एअर को लास्ट फ्लाइट छ चार बजे ”

मलाई जसरी नि घर जानु थियो , हुन्न भन्ने त सबालै भएन ।

रु सोर्हसय लिए र दाईले टिकट थमाए ,म हावाको बेग सरी एअरपोर्ट हान्निए , गए सिधै गए , एकैछिनमा प्लेन त उड्यो गाठे बिराट्नगरको लागि ।

चिसो चिसो हावा , प्लेनमा सरर … मेरो खुशीको सिमा थिएन । कतिबेला कतिबेला म त बिराटनगर पो पुगीसकेछु । एअरपोर्ट बाहिर हेरे , साझ परी सकेछ । हत्तपत्त , इटहरी , उर्लाबारी , हुदै म मधुमल्ला पुगे । रातको आठ बजी सकेछ । ओह घर त टाढा पो छ त यहाँ बाट नि । माथी चनौटे पञ्चमी पुग्न त अझ चार घण्टा पो लाग्छ त । म अलमल्ल परे ।

तर मलाई घर पुग्नु थियो जसरी नि ।
______________________________________
माथि बनतिर राको बलेको देखियो – बाटो हिंड्ने बटुवा होलान , म पनि सँगै जान पर्यो । म गुरुरु दौडे , राँको पछ्याउदै ।

अहम अहम …. मैले खोकेको सुनेर राँको बोक्ने दाइले पछी फर्केर हेरे – ओहो लामा दाई पो मेरो गाउ भन्दा अली वरको गाउका , गाम्ले दाई !

धन्न साथी पाइयो , अब भने घर पुगिन्छ । लामा दाइको घर बाट दुई घण्टा त हो नि मेरो घर पुग्न – म दङग परे ।

जेठा ! यती राती कताबाट ? -लामा दाइले सोधे ।

काठमाण्डौबाट आएको दाई , घर हिंडेको , अबेला पो भो –

ल आउ आउ सँगै जाम – म पनि तल मधुमल्ला बजार तिर बोका बेचेर आएको – दाईले सुनाए ।

म लुरुलुरु दाईको पछी लागे । बेला बेला घण्टा बजेको,भजन किर्तन गाएको,हासेको सुनिन्छ । यो बनमा के हुँदैछ आज ? अचम्म पनि लाग्यो । तर पनि नबोली म लुरुलुरु हिंडेरहे ।

धेरै बेर हिंडे , हल्लाखल्ला अली कम हुँदै गैरहेको थियो । म चुपचाप हिडिरेहे , दाई पनि खासै बोलेनन , म पनि बोलिन । मलाई अली अली चिसो भएर आयो , जाडो लागे जस्तो पनि भो , तर पनि नबोली हिडिरहेछु ।
_______________________________
धेरैबेर पछी दाई बोले – ल जेठा घर आइपुग्यो मेरो । अब यतै खाना खाएर जा । बार्ह बजे सम्ममा त घर पुगी हाल्छस नि ”

भोक लागिरहेको थियो , उता कठामाडौंमा पनि केही खाएको होइन , सोचे – ठिकै हो , भात खाएरै जान पर्ला ।

म अगेनाको डिलमा टुक्रुक बसेको छु । लमिनी भाउजुले ढिडो , साग र अलिकती बटुको मा जाड ल्याएर दिइन । भोकको सुरमा मैले कपाकप दन्काए ।

एकै छिनमा मैले खाइ सके । भाउजु संगै भान्सामा एउटी गोरी मैया पनी थिइन । खाना खाँदा बेला बेला आँखा जुधे हाम्रा । क्या राम्री मोरी ” एस्लाई आज पाए । मेरो मन त फुरुङ पो भो ।

मेरी बहिनी हो – तल सिमलगाउबाट आजै आएकी – भाउजुले चिनजान् गराइन । म मक्ख परे । क्या राम्रा गाला , एक चोटि म्वाअँइे खान पाए ‘ गाजाले मातेको मेरो मन उत्ताउलो भो ।
अब मलाई घर जान मन लागेन । यतै बस्न पाए आज राती यो तरुनी का तिग्रा निम्ठ्न पाइन्थ्यो कि , मेरो मनमा लोभ जाग्यो ।
____________________
जेठा रात पनि निकै बित्यो , गतिलो राँको पनि छैन , कसरी जान्छौ घर ? भाउजुले सोधिन ।

जान्न अब यती राती , यही बस्छु आज – मैले र्याल चुहाए ।

कहाँ बस्छौ यहाँ । हाम्रोमा कोठा खाली छैन , आज बहिनीपनी आएकी छ – सुत्ने ठाउँ छैन – भाउजुले खै गरीन ।

यही सुत्छु नि बैनीको छेउमा ! गाला पनि कस्ता स्याउ जस्ता ! एक पल्ट म्वाँइ खान पाए !- गाजाको सुरमा मैले प्वाक्क बोलेछु ।

सुत्छस काँथा , मेरो बहिनिको छेउमा , पात्तिएको असत्ती बाहुन काठो – भाउजुले हातको पन्युले मेरो टाउकोमा बजारिन ।

ऐया नि आमा ! म चिच्याए ।

म भुइमा डङरङ्ग पछरिएको छु । यसो हेरे , चारै तिर चुक घोप्टाए जस्तो अध्याँरो छ । मेरो टाउको त झन्नन पो गरीरहेछ ।

बिस्तारी उठे ।
छुम्छुम गरे अध्यारोमा । ल बर्बाद भो – म त पशुपती मन्दिर नजिकैको पेटिमा पो डङरङग लडिरहेको रहेछु । मेरो टाउको त छेउको ढुङ्गामा पो बजारिएको रहेछ ।

आँखा बटारेर हेर , वरिपरी भुस्याहा कुकुर मात्र थिए । घडी हेरे , रातको एक बजेको रहेछ ,भोक र चिसोले मेरो ओठ तालु सुकेको रहेछ । म फेरी थुचुक्क त्यही बसे ।